प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेप्रति आक्रोश नै आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको पाँचौ अधिवेशनअन्तर्गत बिहीबार बसेको दोस्रो बैठकमा लिखित सम्बोधन गर्ने क्रममा कांग्रेस–एमालेलाई ७९ प्रश्न गर्दै दुवै दलका नेतृत्व र सरकारका कामहरू प्रति आक्रोश पोखेका हुन् ।
माघ १८ गते पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा संसदलाई सम्बोधन नगरेपछि आलोचना खेपेका पूर्वप्रधानमन्त्री प्रचण्ड दोस्रो बैठकमा भने आक्रामक रुपमा प्रस्तुत भए ।
उनले प्रमुख प्रतिपक्षी दलको नेता संसद बैठकमा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेपछि कांग्रेस–एमालेलाई संसदीय परम्परा नै स्मरण गराए । प्रचण्डले सरकारलाई सामाजिक सञ्जालसम्बन्धी विधेयक, अध्यादेशदेखि अभियन्ताका रूपमा आफूलाई चिनाउँदै आएकी धादिङकी आशिका तामाङलाई हतकडी लगाइएको बारे प्रश्नैप्रश्न गरे ।