बाँकेस्थित डुडुवा गाउँपालिका–४, कम्दीमा तस्करहरूले केही दिनदेखि भारतबाट ल्याएर सङ्कलन गरेका गाईगोरु जंगल आसपास धपाइएको छ। बङ्गलादेश पुर्याउने उद्देश्यले सङ्कलन गरिएका १२४ वटा गाईगोरुलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएपछि जंगलतर्फ धपाइएको हो।
यसअघि पनि प्रहरीले तस्कर गरेर ल्याइएका चार गाडी गाईगोरु नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयलाई बुझाएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार तस्करहरूको समूहले भारतबाट बाँकेका विभिन्न सीमा नाका हुँदै गाईगोरु नेपाल भित्र्याउने, त्यसपछि पूर्वी जिल्ला झापा पुर्याएर बङ्गलादेश तर्फ लैजाने गरेको पाइएको छ।
खुला सीमा र कमजोर सुरक्षा व्यवस्थाका कारण बाँके तस्करहरूको प्रमुख मार्ग बनेको छ। सशस्त्र प्रहरीले सुरक्षा दिइरहे पनि तस्करहरूले गाईगोरु सहजै नेपाल भित्र्याइरहेका छन्। नागरिकहरूका अनुसार सीमा सुरक्षालाई अझै कडाइ गरिएको भए यति धेरै गाईगोरु नेपाल प्रवेश गर्ने अवस्था आउने थिएन।
नेपाल–भारतबीच खुला सीमा रहेकाले दुवै देशबाट गाईगोरु तस्करी सहज देखिए पनि भारत–बङ्गलादेशबीच खुला सीमा नहुँदा भारतबाट सीधै बङ्गलादेश तस्करी गर्न कठिन भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ। त्यसैले तस्करहरूले नेपालमार्फत बङ्गलादेश गाईगोरु पुर्याउने गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीका अनुसार पछिल्लो समय गाईगोरु तस्करी नियन्त्रण तीव्र छ। तस्करीमा संलग्न केही व्यक्तिहरू पहिचान भइसकेका छन् भने केहीको खोजी कार्य जारी छ। सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा सुरक्षा निकायहरूबीच समन्वय अभाव देखिएको छ। यसको फाइदा सोझै तस्करहरूले उठाइरहेका छन्।
‘खुला सीमाका कारण भारतबाट बाँकेमा चरिचरण गरेर ल्याइने, त्यसपछि ट्रकमार्फत झापा पुर्याएर बङ्गलादेश तस्करी गरिने जानकारी पाएपछि हामीले नियन्त्रणलाई कडा बनाएका छौँ,’ एसपी कार्कीले भने।
सीमा सुरक्षा निकायकै मिलेमतोमा गाईगोरु तस्करी भइरहेको नागरिक समाजका अगुवाहरू बताउँछन्। नागरिकहरू घरायसी सामान ल्याउँदा समेत सुरक्षाकर्मीबाट दुःख पाइरहेको तर तस्करहरूलाई छुट दिइएको आरोप उनीहरूले लगाएका छन्।
तस्करीमा एक वा दुई व्यक्ति संलग्न नभई ठूलो गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ। ‘एक–दुई जना मिलेर यस्तो तस्करी सम्भव छैन,’ एसपी कार्कीले भने, ‘यो संगठित गिरोह हो, जसमा नेपाल, भारत र बङ्गलादेशका तस्करहरू संलग्न छन्। स्थानीय तस्करहरूसँग पनि उनीहरूले सहकार्य गरिरहेका छन्।’
बाँकेको पश्चिमी क्षेत्र खजुरा, रनियापुर, दक्षिणी क्षेत्र नरैनापुर र पूर्वी क्षेत्र फत्तेपुर, विनौना, बैजापुर हुँदै अगैया नाकाबाट गाईगोरु तस्करी हुने गरेको पाइएको छ।
जंगलतिरै छाडिन्छ गाईगोरु
तस्करीबाट नियन्त्रण गरिएका गाईगोरुका लागि काञ्जी हाउस नहुँदा प्रहरी प्रशासनले तिनलाई जंगल आसपास छाड्ने गरेको छ।
एसपी कार्कीका अनुसार गाईगोरुका लागि दाना र घाँसको व्यवस्था गर्न कठिन भएकोले जंगलतर्फ छाड्नुपरेको हो। ‘गाउँमा छाड्दा किसानका बाली नष्ट हुने, सहरी क्षेत्रमा छाड्दा सडक दुर्घटनाको जोखिम हुने भएकाले घाँसपातका लागि जंगलतर्फ छाड्ने गरिएको छ,’ उनले भने।
भारतबाट बङ्गलादेश पुर्याउने उद्देश्यले कम्दीमा सङ्कलन गरिएका १२४ वटा गाईगोरुलाई हाल जंगल आसपास छाडिएको छ।