निर्माण कम्पनीको लापरबाहीले हुलाकी राजमार्गअन्तर्गत १३ वर्षदेखि अलपत्र पारिएको कन्काई पुल निर्माणको काम पुनः सुरु भएको छ । सरकारले ठेक्का तोड्ने तयारी गरेको थाहा पाएपछि निर्माण कम्पनीले काम सुरु गरेको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीले जनाएको छ ।
हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काई माई नदीको पुल ५६ प्रतिशत मात्र पूरा भएको छ । सरकारले कडाइ गर्न नसक्दा र निर्माण व्यवसायीको चरम लापरबाहीले पाँचपटक म्याद थप भइसकेको छ । सात सय मिटर लामो पुल ३१ जेठ ०६८ मा पप्पु र महादेव खिम्ती जेभीले २९ जेठ ०७२ मा सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए । सात सय २५ मिटर लम्बाइ रहेको पुल बनाउन ३४ करोड नौ लाखमा सम्झौता भएको थियो । केही दिनअघि झापा आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कन्काई पुलको ठेक्का तोड्ने तयारी गरेपछि पुरानै निर्माण कम्पनीले काम थालेको बताए ।
पछिल्लो एक वर्षदेखि ठप्प भएको कन्काई पुल निर्माणको काम केही दिनदेखि सुरु गरेको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए । ‘गत वर्षदेखि काम भएको थिएन । अहिले फेरि निर्माण कम्पनीले काम सुरु गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रले प्राविधिक परीक्षणका क्रममा देखाएको त्रुटि सच्याउन पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट प्राविधिक विशेषज्ञ टोली बोलाएका थियौँ । त्यही टोलीको प्रतिवेदनअनुसार देखिएका त्रुटि सच्याउने काम निर्माण कम्पनीले गरेको छ,’ उनले भने, ‘त्यो सच्याइसकेपछि हामी परीक्षण गर्छौँ । सायद केही दिनमा सच्याउने काम सकिन्छ । त्यसपछि हामीले अब निर्माण गर्न उपयुक्त छ कि छैन भनेर परीक्षण गरेपछि मात्र काम अघि बढ्छ ।’